text/x-generic nav.blade.php ( ASCII text )

त्रिभुवन विश्वविद्यालय ६२ औं वर्षमा, ५९ औं ग्रेस लिष्ट पारित

  • Time: 2021-07-18 17:30:37
  • Page Visit: 2567
img


कीर्तिपुर (३ श्रावण)/त्रिभुवन विश्वविद्यालय ६२ औं वर्षमा प्रवेश गरेको छ । यहि श्रावण ३ गते आइतवार त्रिविको ६२ औं वार्षिक दिवसको अवसरमा त्रिवि सभाको बैठकले ५९ औं ग्रेस लिष्ट पारित गरको छ । त्रिवि केन्द्रीय कार्यालयस्थित स्मृति भवनबाट सञ्चालित कार्यक्रम भर्चुअल रुपमा सहभागिता रहने गरी आयोजना गरिएको थियो । 
गत वर्ष २०७७ आषाढ १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्स्क्रिप्ट लिएका विद्यार्थीहरुको सूची ५९ औं ग्रेस लिष्टमा समावेश गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । जसमा चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत १ हजार ३ सय ४० जना, इन्जिनियरिङ अध्ययन संस्थानबाट ८ सय २६ जना, विज्ञान प्रविधि अध्ययन संस्थानबाट २ हजार ९ सय ७४ जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४ सय ६२ जना, वन विज्ञान अध्ययन संस्थानबाट २ सय ७९ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने शिक्षाशास्त्र संकायबाट ७ हजार १ सय १८ जना, मानविकी तथा सामाजिकशास्त्र संकायबाट ७ हजार ५ सय ७ जना, व्यवस्थापन संकाय अन्तरगत ८ हजार ३ सय ४३ जना र कानुन संकाय अन्तरगत ८ सय ८० जना गरी कुल २९ हजार ७ सय २९ जना विद्यार्थीहरु दीक्षित हुन योग्य सूचीमा सूचीकृत भएका छन् । 
वार्षिक दिवसको भर्चुअल कार्यक्रममा त्रिविका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश पढेर सुनाइएको थियो भने सभाको अध्यक्षता गर्ने अख्तियारी उपकुलपतिलाई प्रदान गरिएको थियो । सभामा उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई सूचना प्रविधिको प्रयोगले सेवाग्राहीमैत्री सेवा प्रवाहको व्यवस्था गर्न सफलता हासिल हुँदै गएको बताउनु भयो । उहाँले पाठ्यक्रम विकास केन्द्र, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय, डिन कार्यालयहरुमा आवेदन दिने प्रक्रियालाई सहज बनाउँदै अनलाइन प्रविधिमार्फत गर्न प्रारम्भ गरिसकिएको बताउनु भयो । 
उहाँले विश्वविद्यालयका सबै निकायहरुको वेवसाइटहरुमा एकरुपता ल्याउन कार्य प्रारम्भ गरिएको, नयाँ नियुक्त शिक्षकहरुलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुवात गरिएको, कर्मचारीहरुको सेवाकालीन तालिमहरु गर्न शुरु गरिएको, करिब ६ हजार शिक्षकहरुलाई प्रविधिमैत्री एवम् अनुसन्धानमुखी तालिमहरु प्रदान गरिएको, आँगिक क्याम्पसहरुमा अनलाइन कक्षा व्यवस्थापनको लागि सूचना प्रविधि युनिटको व्यवस्था गरिएको, अन्तर्राष्टिय विद्यार्थीको संख्या पाँच सय पुगेको, बौद्धिक चोरी परीक्षण गरी त्यसलाई निरुत्साही गर्न विद्युतीय उपकरण त्रिवि केन्द्रीय पुस्तकालयमा जडान गरिएको, विश्वविद्यालयको पुनःर्संरचना गर्न र नीति नियम निर्देशिकाहरुमा एकरुपताका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा रजिष्टार प्रा.डा. पेशल दाहालले ५९ औं ग्रेस लिष्टमा समावेश साधारणतर्फ उत्तीर्ण २३ हजार ८ सय ४८ जना (८० प्रतिशत) र प्राविधिकतर्फ ५ हजार ८ सय ८१ जना (करिब २० प्रतिशत) विद्यार्थीहरु उत्तीर्ण रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालले परिस्थितिले वार्षिक दिवस बैठक अनलाइन माध्यमबाट गर्नुपरेको बताउनुहुँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।