text/x-generic nav.blade.php ( ASCII text )

४७ औं दिक्षान्त समारोहमा एक्काईस विद्यार्थीलाई पदक/पुरस्कार   

  • Time: 2021-12-18 06:52:06
  • Page Visit: 1613

कीर्तिपुर (२ पौष)/त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ४७ औं दीक्षान्त समारोहमा २९ विधामा पदक एवं पुरस्कार वितरण गर्न त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वोत्कृष्ट अंक प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीहरुको नाम सार्वजनिक गरेको छ । 
जसमा उत्कृष्ट १३ जना छात्रा र ८ जना छात्र रहेका छन् । उत्कृष्ट मध्ये दुई जना उपदेश सुवेदी र प्रमोद नेपालले जनही तीन वटा पदक प्राप्त गर्ने भएका छन् । सुवेदीले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्णपदक हात पारेका छन् भने नेपालले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुँगेल स्मृति पुरस्कार प्राप्त गर्ने भएका हुन् । 
यसैगरी चार जनाले दुई/दुई वटा पदक एवम् पुरस्कार प्राप्त गर्नेछन् भने १५ जनाले एक एक वटा पदक एवम् पुरस्कार प्राप्त गर्ने भएका हुन् । उत्कृष्ट सूचीमा रहेका विद्यार्थीहरु सृष्टि न्यौपाने, विवेकराज भट्टराई, प्रतिक्षा सिंह र मन्दिरा न्यौपानेले जनही दुई वटा पदक एवम् पुरस्कार प्राप्त गर्ने भएका हुन् । आगामी पौष ५ गते सोमवार हुने त्रिविको ४७ औं दीक्षान्त समारोहमा ती पदक एवं पुरस्कारहरु वितरण गरिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाइएको छ । 
कसले कुन पदक पाउने? 
परीक्षा नियन्त्रण कार्यालयले सार्बजनिक गरेको घोषित पदक÷पुरस्कारहरुमध्ये वि.सं. २०७६ सालको दीक्षान्त पदक अन्तरगत व्यवस्थापन संकाय डीनको कार्यालयका छात्र श्री विश्वास राज पौडेलले व्यवस्थापन संकाय अन्तरगत एम.फिल. तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकोले त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्रदान गरिने भएको छ । उनले ३.९६ सिजिपिए प्राप्तांक गरी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । 
यसैगरी स्नातकोत्तर तह वि.सं. २०७४ सालको दीक्षान्त पदक अन्तरगत स्कूल अफ म्यानेजमेन्टकी छात्रा श्री मेरिना नेपालीले एम.बि.ए. तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेबापत श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक पाउने भएकी हुन् । 
वि.सं. २०७५ सालको स्नातकोत्तरतर्फ ११ जनालाई १८ पदक/पुरस्कार
स्नातकोत्तर तह वि.संं २०७४ सालको सम्पूर्ण मास्टर्स परीक्षाहरुमा प्रथम श्रेणीमा प्रथम हुने थापाथली क्याम्पसका श्री उपदेश सुवेदीले विशिष्ट श्रेष्णीको अंक प्राप्त गरी चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्णपदक गरी तीन वटा पदक हात पार्ने भएका हुन् । यस्तैगरी एम.ए. मानवशास्त्र, समाजशास्त्र विषयमा सर्वप्रथम हुने समाजशास्त्र केन्द्रीय विभागकी एलिशा पौड्याललाई सुमन रिजाल पदक प्रदान गर्ने निर्णय भएको छ भने एमए अंग्रेजी साहित्यमा सर्वप्रथम हुने काठमाडौ मोडेल कलेजकी सृष्टि न्यौपानेलाई नरेन्द्रमणी आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदक दिने निर्णय भएको बताइएको छ ।
एम.एड. तहमा गणित विषय लिई सर्वप्रथम हुने शिक्षाशास्त्र केन्द्रीय विभागका विकास भुषाललाई हिमांशु दाहाल स्मृति नगद पुरस्कार दिने निर्णय भएको छ भने एम.ए. अर्थशास्त्र विषयमा सर्वप्रथम हुने रत्नराज्य लक्ष्मी क्याम्पसका प्रमोद नेपाललाई तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुँगेल स्मृति पुरस्कार गरी तीन वटा पदक एवम् पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । 
यसैगरी एम.एस्सी. रसायनशास्त्र विषयमा सर्वप्रथम रसायनशास्त्र केन्द्रीय विभागका विवेकराज भट्टराईलाई अमृत पदक र पि.एम. सिंह पदक प्रदान गर्ने निर्णय भएको छ । त्यस्तै एमबिएस परीक्षामा सर्वप्रथम व्यवस्थापन केन्द्रीय विभागका रामप्रसाद खरेललाई नेपाल बैंक लि. सरदार गञ्जमान सिं स्वर्णपदक र नेपाल कमर्श क्याम्पसकी श्री सृजना श्रेष्ठलाई एम.बि.एस. परीक्षामा महिलाहरुमध्ये प्रथम भएकोमा रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार प्रदान गरिने निर्णय भएको छ । 
यसैगरी एम.ए. अन्तर्राष्टिय सम्बन्ध तथा कूटनीति विषयमा सर्बप्रथम श्री सफला धिताललाई डा. दुबसु क्षेत्री स्वर्णपदक प्रदान गरिएको छ भने एम.ए. भाषा विज्ञान विषयमा सर्बप्रथम भाषा विज्ञान केन्द्रीय विभागका छात्र श्री महेश सिंह साउदलाई रामबिक्रम÷शान्ता सिजापति पदक प्रदान गरिएको छ । एम.ए.राजनीतिशास्त्र विषयमा सर्वप्रथम हुने ठाकुराम बहुमुखी क्याम्पसकी श्री प्रतिक्षा सिंहलाई ललित चन्द पदक र वडाकाजी मरिचमान सिंह पदक प्रदान गर्ने निर्णय भएको छ । 
स्नातक तहतर्फ आठ जनाले पाए पदक र पुरस्कार 
यसैगरी स्नातक तहतर्फ वि.सं. २०७६ सालको लागि प्रदान गरिने पाँच वटा दीक्षान्त पदक तथा चार वटा पुरस्कार पाउने विद्यार्थीहरुमा लमजुङ क्याम्पसकी छात्रा समिक्षा कार्कीले स्नातक तहको परीक्षामा सर्वप्रथम भई भाइस चान्सलर पदक जितेकी छन् । त्यस्तैगरी नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, कालिमाटीकी निशा व्यञ्जनकारले बि.एच.एम. (होटल म्यानेजमेन्ट) विषयमा सर्वप्रथम भई प्रितम चित्रकार पुरस्कार हात पारेका छन् । 
के एण्ड के इन्टरनेशनल कलेज, नयाँ बानेश्वरकी नम्रता कोइरालाले बिबिए (व्यापार प्रशासन स्नातक) तहको परीक्षामा सर्वप्रथम भई भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक जितेका छन् । ख्वप कलेज अफ इन्जिनियरिङका रमण श्रेष्ठले सिभिल इन्जिनियरिङ्ग विषयको स्नातक तहमा सर्वप्रथम भई शिवराज पन्त स्मृति पुरस्कार हात परेका छन् । यसैगरी नेपाल ल क्याम्पसकी दिप्ति सापकोटाले बि.ए. एलएल बी परीक्षामा सर्वप्रथम भई लोकराज ज्ञवाली स्वर्ण पदक प्राप्त गरेकी छन् । 
त्यस्तै मानविकी संकायतर्फ स्नातक तहमा सर्वप्रथम र तीन वर्षे बि.ए. परीक्षामा महिलाहरुमध्ये सर्वप्रथम हुने के एण्ड के इन्टरनेशनल कलेज, बानेश्वरकी मन्दिरा न्यौपानेले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञान प्रसाद पुरस्कार प्राप्त गरेकी छन् । यस्तैगरी बिबिएस परीक्षामा सर्बप्रथम हुने बागिश्वरी कलेज, भक्तपुरकी बबिता ग्वाछाले नेपाल बैंक लिमिटेड छत्र बहादुर पदक प्राप्त गरेका छन् भने तीन वर्षे बि.एड. परीक्षामा महिलाहरुमध्ये सर्वप्रथम हुने डिल्लीबजार कन्या क्याम्पसका रोजी महर्जनले सुशीलादेवी शर्मा पुरस्कार प्राप्त गरेकी छन् ।