कर्मचारीका लागि अनलाइन सफ्टवेयरबारे अभिमुखीकरण
- Time: 2021-06-25 14:25:17
- Page Visit: 2472
कीर्तिपुर, आषाढ ११
त्रिवि पाठ्यक्रम विकास केन्द्रले प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्र प्रदान गर्ने कार्य अनलाइनको माध्यमबाट सञ्चालन गर्न निर्माण गरिएको समकक्षतासम्बन्धी अनलाइन आवेदनको सफ्टवेयर प्रयोगसम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका उपप्राध्यापक जगदीश भट्टले पाठ्यक्रम विकास केन्द्रको वेवसाइटभित्र प्रवेश गरी सफ्टवेयर प्रयोगसम्बन्धी विषयवस्तुमा प्रस्तुतीकरण एवम् सहजीकरण गर्नुभएको थियो ।
सहजकर्ता भट्टले वेवसाइटमा गई सफ्टवेयरमार्फत विद्यार्थीले कसरी आवेदन फारम प्रविष्ट गर्ने, प्राप्त हुन आएका फारमहरुलाई कसरी रुजु गरी समकक्षताको प्रमाणपत्र दिन सकिन्छ भनी डेमो गरेर प्रस्तुतीकरण गर्नुभएको थियो । साथै सफ्टवेयरको एडमिन प्यानलको प्रयोग र यसका विशेषताहरुमा समेत उहाँले कर्मचारीहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैगरी आवेदन दस्तुर तिर्न विद्यार्थीहरुले अनलाइनबाटै इसेवा र खल्ती एप्स्को प्रयोग गरी गर्न सकिने गरी एमओयु भएको र सो रकम पाठ्यक्रम विकास केन्द्रको बैंकखातामा लिँक गरी कसरी प्राप्त हुन्छ भन्ने सम्बन्धमा समेत जानकारी गराइएको थियो ।
अभिमुखीकरणपश्चात पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीहरुको सफ्टवेयर सञ्चालनको भुमिका अलग अलग निर्धारण गरिएको छ । सफ्टवेयरमार्फत चाँडै सेवा प्रवाह थालिने कार्यालयले जनाएको छ । अभिमुखीकरणमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवसहित केन्द्रमा कार्यरत एक दर्जन बढि कर्मचारीहरुको सहभागिता रहेको थियो ।