त्रिवि केन्द्रीय कार्यालयमा शोकसभा पश्चात सेवा प्रवाह स्थगित
- Time: 2021-07-02 21:11:33
- Page Visit: 2186
कीर्तिपुर (आषाढ १८)/त्रिवि केन्द्रीय कार्यालयले आयोजना गरेको शोक सभापछि शुक्रवार अपरान्ह पश्चात दैनिक सेवा प्रवाहको काम स्थगित भएको छ । केन्द्रीय कार्यालय अन्तरगतको सबै सेवा स्थगित भएको हुँदा पाठ्यक्रम विकास केन्द्रको सेवा पनि अपरान्हदेखि बन्द भएको हो ।
हालै सडक दुर्घटनामा परी निधन हुनु भएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक एवम् सह प्राध्यापक स्व. शंकर भण्डारी र कोभिड १९ को कारण निधन हुनुभएका त्रिवि केन्द्रीय कार्यालय लेखापरीक्षण महाशाखाका प्रमुख सहआर्थिक नियन्त्रक शम्भुप्रसाद भट्टराई लगायत कोभिड १९ कै कारण देशका विभिन्न निकायहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको निधनमा शुक्रबार त्रिवि उपकुलपति कार्यालय परिसरमा शोक सभा आयोजना गरेको हो । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल, रजिष्ट्रार प्रा.डा. पेशल दाहाल लगायत महाशाखा प्रमुखहरु, केन्द्र प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु समेतले शोक सभामा उपस्थित भई दिवंगत शिक्षक कर्मचारीहरु र उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो । सभामा त्रिवि रजिष्ट्रार प्रा.डा. पेशल दाहालज्यूले शोक मन्तव्य वाचन गर्नुभएको थियो ।