text/x-generic nav.blade.php ( ASCII text )

अनलाइन सेवामार्फत समकक्षताको प्रमाणपत्र प्रदान

  • Time: 2021-07-04 14:35:29
  • Page Visit: 7877
img

कीर्तिपुर (२० आषाढ)/त्रिवि पाठ्यक्रम विकास केन्द्रले त्रिवि बाहेकका नेपाल भित्रका विश्वविद्यालय एवम् शैक्षिक संस्थाहरु र विदेशी विश्वविद्यालय एवम् शैक्षिक संस्थाहरुबाट उपाधि हासिल गर्ने सेवाग्राहीहरुको शैक्षिक प्रमाणपत्रहरुको उपाधि मान्यता तथा समकक्षता प्रदान गर्ने सेवालाई वेवसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन गर्ने र शुल्क तिर्न सक्ने व्यवस्था आजबाट शुरुवात गरेको छ । 


आजै अनलाइन सेवा प्रयोग गरी सेवा प्राप्त गर्ने पहिलो सेवाग्राही सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थायी ठेगाना भई श्रीकालिध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दलाई पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभयो ।

सेवाग्राही चन्दले आफुले कार्यक्षेत्रमा फर्कनुपर्ने कारण अत्यन्त जरुरी अवस्थामा अनलाइनबाट कागजातहरु अपलोड गरेर फारम भरेको र शुल्क समेत अनलाइनबाटै तिरेर कार्यालयमा सम्पर्क गर्दा तत्काल सेवा प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कागजात रुजु गराउन झ्यालमा लाइन बस्नुपर्ने र शुल्क बुझाउन बैंकमा लाइन लाग्नुपर्ने सेवाग्राहीको समस्या अनलाइन सेवाले हटाइदिएकोमा कार्यालयलाई धन्यवाद दिनुभयो । 


देशका विभिन्न स्थानबाट समकक्षताको लागि कीर्तिपुरस्थित त्रिवि पाठ्यक्रम विकास केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झटबाट अब सेवाग्राहीलाई सहजता हुने भएको छ । सेवाग्राहीले घरैबाट आवेदन दिने र शुल्क तिर्ने कार्य सम्पन्न भएपछि आफ्नो आवेदन स्वीकृत भएको नभएको, कागजात पुगेको नपुगेको सम्बन्धमा कार्यालयले रुजु गरी अनलाइनबाटै जानकारी गराउने व्यवस्था गरिएको छ । कागजात अपुग भएकोमा आवश्यक थप कागजात पेश गर्न अनलाइनबाटै जानकारी दिइनेछ । 


पाठ्यक्रम विकास केन्द्रको लागि त्रिवि कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले यो सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा आएको विभागका उपप्राध्यापक जगदीश भट्टले जानकारी दिनुभयो । 

अनलाइन आवेदनको लागि डब्लुडब्लुडब्लु डट टियुसिडिसी डट इडियु डट एनपी मा गएर लग इन् गर्नुपर्नेछ । अनलाइन आवेदन गर्दा सेवाग्राहीले ध्यानदिनुपर्ने कुराहरु विस्तृत रुपमा वेवसाइटमा सूचना समेत राखि सकिएको छ ।